काठमाडौं– दिनेश खड्का, आगामी जेठ २६ मा देशभरका हलमा प्रदर्शनमा आउने चलचित्र ‘वेलकम टु हेम्जाकोट’का अभिनेता हुन्।
भिलेन क्यारेक्टरमा देखिन लागेका अभिनेता खड्काले यसअघि पनि केही चलचित्रमा काम गरे। तर, यस चलचित्रबाट उनले अलिकति धेरै आशा र अपेक्षा गरेका छन्। किन? खड्का भन्छन्, ‘पहिलो कुरा चलचित्रले भन्न खोजेको कथा अहिलेको समसामयिक परिवेशमा आधारित छ। कथाअनुसार कलाकारले गरेको कामले पनि दर्शकको ध्यान तान्न सक्छ।’
लामो समयदेखि नेपाली चलचित्र उद्योगमा संघर्ष गरिरहेका खड्का चलचित्र उद्योगमा काम हुने परिपाटी, सिस्टम, चलन देखेर अल्लमल्ल छन्। कतिपय कुरामा दुःखी पनि छन्। कतिपय कुरामा आशावादी पनि। केहि कुराले मन खिन्न पनि छ।
समग्रमा उनले धेरै त बोल्न चाहेनन्। तथापि, नेपालको चलचित्र उद्योगमा आबद्ध नजिकका सम्बन्धित संस्था तथा व्यक्तिहरु चलचित्र उद्योगको समग्र भविष्यलाई लिएर गम्भीर नदेखिएको उनी बताउँछन्।
यहाँ जसले पनि असहयोग गर्ने देखिन्छ, यो कुरा विदेशमा कस्तो छ? उनी भन्छन्, ‘मिलेर काम गरौं, मिलेर चलचित्र उद्योगलाई यहाँ आबद्ध हजारौं कलाकार, टेक्निसियन, चलचित्रकर्मीको आशाको उद्योग बनाउन कोही लागेको भेटिएन। तर, सबै मिल्ने हो भने हाम्रो उद्योग र उद्योगबाट उत्पादित प्रोजेक्टलाई इन्टरनेश्नल तहमा पुर्याउन सकिन्थ्यो।’
अभिनेता खड्काले चलचित्र विकास बोर्ड अथवा एउटा कुनै संस्थाले नियम र परिधी बनाएर चलचित्र निर्माण गर्दा औंला ठड्याउने र नियमन गराउने हुनुपर्ने उनी बताउँछन्। ‘जस्ता व्यक्ति पनि कलाकारका रुपमा उद्योगमा आएका छन्, कला नबुझेका कलाकारले कलाभित्रको मर्म कसरी बुझ्छ?’ उनी भन्छन्, बलिउड र हलिउडमा एउटा कलाकारले मौका पाउन गाह्रो तर मौका पाएपछि फर्किएर हेर्नुपर्दैन, तर नेपालमा १० वर्ष मिहेनत गरेर एउटा कलाकार दर्शकहरुमा भेटिन्छ। त्यसपछि त उ धमाधम काम पाउनुपर्ने, पछि फर्किएर हेर्नुनपर्ने हुनुपर्ने हो नि। तर, यहाँ १० वर्षपछि फेरि अर्को स्ट्रगल सुरु हुन्छ।’
नेपालको चलचित्र उद्योगलाई सरकारी बेवास्ताको कारण पनि यहाँबाट धेरै निर्माता, कलाकार, टेक्निसियनहरु पलायन भएको उनको धारणा छ।
‘उद्योग दर्ता भएपछि कम्तिमा सरकारको अलिकति दायित्व हुनुपर्दैन? नेपाल सरकारले नेपाली चलचित्र उद्योगको स्तरोन्नतिलाई लिएर के नै गरेको छ र?’ उनी प्रश्न गर्छन्।
‘फिल्म इन्ड्रस्टिजमा कलाकारको रुपमा काम गरेर नेपाली फिल्म, यहाँको भाषा, संस्कृतिलाई संसारभर पुर्याउने, चिनाउने जुन सपना छ, त्यसका लागि म धेरै प्रयासरत छु, तर वातावरण मिलिरहेको छैन’, उनी भन्छन्।
कलाकारितामा काम गर्न चाहे पनि व्यवसायिकता नभएका कारण फुलटाइम कलाकार हुन नसकिरहेको उनको भनाइ छ। ‘त्यो बाध्यता हो, कलाकारितामा अपूर्ण हुनुपरेको छ’, उनी भन्छन्।
२०५७ मा राष्ट्रिय नाचघरबाट ‘एक्टिङ कोर्ष’ सिकेर चलचित्र उद्योगमा प्रवेश गरेका खड्काले अहिलेसम्म ४० वटा स्टेज नाटक गरेका छन्। एक सयभन्दा धेरै सडक नाटक गरेका छन्।
२०६१ मा पोखरा र २०६२ मा चितवनमा आयोजित रंगमञ्चबाट अवार्ड पाएका खड्काले ‘अपराध’, ‘थोरै भए पुगिसरी’, ‘किलो ट्यांगो माइक’ लगायत एक दर्जन सिरियल तथा २ दर्जन म्यूजिक भिडियोमा काम गरेका छन्।
उनको पहिलो ‘डेब्यू’ चलचित्र ‘सुट’ २०७० मा सार्वजनिक भएको थियो। दोस्रो चलचित्र धन्दागिरीबाट उत्कृष्ट काम गरेपछि उनलाई हेम्जाकोटमा मुख्य कलाकारको रुपमा आबद्ध हुने अवसर जुरेको हो।
‘थोरै चलचित्र तर राम्रो चलचित्रमा काम गर्ने मन छ,’ उनी भन्छन्, ‘थियटरबाट आएको कलाकार हुँ। म कला बुझेको मान्छे हुँ। जति सानो–ठूलो भूमिका भए पनि राम्रो गर्नुपर्छ भन्ने मेरो धारणा हो।’
अहिलेका चर्चित कलाकारहरु राजवल्लभ कोइराला, सन्दीप क्षेत्री लगायतहरु सँग–सँगै अभिनय यात्रा थालेका खड्का थोरै तर राम्रा चलचित्र छानेर मात्रै काम गर्ने सोच रहेको बताउँछन्। ‘मेरा लागि अभिनय जिन्दगी हो, सवथोक हो,’ उनी भन्छन्, ‘अभिनय र कला क्षेत्रबाट सवथोक कमाउने मन छ। नेपाली फिल्म उद्योगलाई विश्वसामु चिनाउने मन छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।