काठमाडौं- भेरी नदीमा बहाव बढेपछि भेरी करिडोरको डोल्पा-जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ। जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको छेरा बगरस्थित भेरी नदीमा बहाव बढेपछि सडक अवरुद्ध भएको हो।
डोल्पा-जाजरकोट सडकखण्ड जोड्नका लागि भेरी नदीमा राखिएको ह्युमपाइप बहाव बढेपछि पुरिँदै गएका कारण सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। नदीमा पुल नहुँदा ह्युमपाइप राखेर डोल्पा जाजरकोट सडकखण्ड सिधा जोडिएको थियो।
सडकखण्ड अवरुद्ध भएसँगै नेपालगञ्ज, सुर्खेत, बुटवल, दाङ लगायतका बाहिरी जिल्लाबाट डोल्पा आउने मालबाहक ट्रकसमेत तल्लुबगरमै रोकिएका छन्।
यस्तै केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको डोल्पा–नेपालगञ्ज सिधा बस सेवासमेत सडकखण्ड अवरुद्ध हुँदा प्रभावित हुने भएको छ। अब डोल्पा नेपालगञ्ज यात्रुबाहक बस, मालबाहक ट्रकसहितका सवारीसाधन डोल्पासम्म सिधा पुग्ने छैनन्।
अब डोल्पादेखि बस चढेर रुकुम पश्चिमको छेरा बगरसम्म मात्रै यात्रा गर्न सकिनेछ भने नेपालगञ्जदेखि डोल्पा आउने यात्रुहरुले जाजरकोटको तल्लु बगरसम्म मात्रै यात्रा गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।