काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेक हिरासतमा राखिएको छ।
काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको हो। रायमाझी आइतबार साँझ प्रहरीले बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो।
रायमाझीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने छ। थप अनुसन्धानका लागि म्याद अनुमति लिन रायमाझीलाई अदालतमा उपस्थित गराइन लागिएको हो।
रायमाझीको नाममा वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।
त्यसदिन उनी अर्घखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। त्यसैदिन बेलुका काठमाडौं फर्किने समयतालिका रहेको भए पनि उनी सम्पर्कविहीन थिए।
उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले त्यसै दिन (वैशाख २० गते) पक्राउ गरेको थियो। नेकपा एमालेले बुधबार मात्रै रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको थियो।
उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ।
वैशाख २० गते नेपाल लाइभसँग कुरा गर्दै रायमाझीले आफूमाथि षडयन्त्र भएको बताएका थिए।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा हालसम्म रायमाझीसहित १३ जना पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।