काठमाडौं– राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चैत महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले पछिल्ला महिनाहरुमा सुस्त रहेको मुलुकको अर्थतन्त्र सुध्रिएको उल्लेख छ। उक्त प्रतिवेदनमा अर्थतन्त्रका बाह्य क्षेत्र बलियो बन्दै गएको देखिएको छ। जसअनुसार शोधान्तर बचत थप बलियो भएको, विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको, विप्रेषण आप्रवाहमा वृद्धि भएको देखिन्छ।
उक्त तथ्याङ्कमा अर्थतन्त्र बलियो बन्दै गएको देखिए पनि देशको आन्तरिक अर्थतन्त्र भने सुस्त नै रहेको प्रतिवेदनमा उल्लेख छ। लक्ष्य अनुसारको राजश्व संकलन नहुनु, पुँजीगत खर्च गर्ने सरकारको सामर्थ्यमा ह्रास आउनुले देशको अर्थतन्त्र र आर्थिक गतिविधिहरु सुस्त रहेका छन्।
कुनकुन सूचकहरुले अर्थतन्त्र बलियो देखायो? पहिला त्यसको चर्चा गरौँ।
विप्रेषण (रेमिट्यान्स) को आप्रवाह खर्ब माथि
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चैत महिनामा मात्र करिब १ खर्ब ९ अर्ब विप्रेषण भित्रिएको छ। त्यसअघि फागुनमा १ खर्ब ४ अर्ब ४० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, मंसिरमा १ खर्ब २ अर्ब विप्रेषण आप्रवाह भएको थियो। त्यस अघिका महिनाहरुमा भने विप्रेषण १ अर्बभन्दा कम आप्रवाह भएको थियो।
‘समीक्षा अवधिमा (चैतसम्ममा) विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो,’ प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब विप्रेषण आप्रवाह भएको थियो।
यस्तै, चैत मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा करिब १८ प्रतिशतले बढेको छ। उक्त समयमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड थियो। चैत महिनाको अन्त्यमा आइपुग्दा मुद्रा सञ्चिति १४ अर्ब ३३ खर्ब ७३ करोड पुगेको छ।
‘२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
उक्त विदेशी मुद्रा सञ्चितिले करिब ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ।
यस्तै, यो बीचमा मुलुक भित्रिने र बाहिरिने विदशी मुद्राको अवस्थालाई देखाउने शोधनन्तर स्थिति पनि बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ। चैत मसान्तसम्ममा शोधनान्तर करिब १ खर्ब ८० अर्बले बचतमा रहेको छ। पछिल्लो बर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब माथिले घाटामा थियो।
‘समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ।
शोधनान्तर स्थिति बचतमा रहे पनि चालु खाता भने घाटामै रहेको छ। यसले नै आन्तरिक रुपमा अर्थतन्त्रको शिथिलता कायमै रहेको देखिन्छ।
त्यसो त पछिल्लो वर्षको सोही अवधिमा चालु खातामा रहेको ५ खर्ब माथिको घाटा यो वर्षको चैतमा आइपुग्दा करिब ५२ अर्बमा सीमित भएको छ।
‘समीक्षा अवधिमा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ।
बाह्य रुपमा अर्थतन्त्र बलियो बन्दै गए पनि आन्तरिक रुपमा अर्थतन्त्रमा शिथिलता आउनुमा कसिलो मौद्रिक नीति रहेको बताउँछन् अर्थमन्त्री डा प्रकाशशरण महत। कसिलो मौद्रिक नीतिले ब्याजदर बढेकोले अहिलेको अवस्था आएको मन्त्री महतको टिप्पणी छ।
‘अहिलेको समस्या भनेको कसिलो मौद्रिक नीति हो जसले ब्याजदर बढायो। पहिला जसरी व्यवसायीले ऋण लिएर काम गरेका थिए, उनीहरुको दायित्व बढ्यो। लगानी लागत बढ्यो। त्यसले बजारमा गतिविधि कम भएको हो,’ मन्त्री महतले भने।
आसन्न बजेटको सिद्धान्त र प्राथमिकताबारे बोल्दै मन्त्री महतले सरकारले खर्च गर्न नसक्नु पनि आर्थतन्त्रको समस्या रहेको बताउँछन्।
‘सरकारी खर्च (पुँजीगत खर्च) हामीले राम्ररी गर्न सकेका छैनौँ। खर्च गर्ने क्षमता कमजार भएको छ। त्यसले पनि आर्थिक गतिविधि शिथिल भए जस्तो भएको हो,’ मन्त्री महत भन्छन्।
मन्त्री महतले आफूले ब्याजदर घटाउन राष्ट्र बैंकलाई र्निर्देशन दिएको बताउँछन्। उता राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुवैले तत्काल मौद्रिक नीति खुकुलो पार्न नहुने बताउँदै आएका छन्।
राष्ट्र बैंक पुँजीगत खर्च गर्नमा जोड दिनुपर्छ भन्ने पक्षमा छ। सरकारले भर्खरै जग्गा कित्ताकाट खुलाएको र ब्याजदर कम गरेमा पुन: कर्जा त्यसतर्फ प्रवाह हुन सक्ने रहेकोले उत्पादनमुलक क्षेत्र पहिचान गरेर सहुलियतपूर्ण ऋण प्रदान गर्नुपर्ने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन्।
‘ब्याजदर घट्ने क्रममै छ। अर्थमन्त्रीले भन्नुभएको जस्तो तत्काल उल्लेखनीय रुपमा घट्ने स्थिति भने छैन। त्यसरी घटेमा कर्जा अनुत्पादक क्षेत्रमा जान सक्छ। अलि विचार गरेर ब्याजदर खुकुलो गर्नुपर्छ,’ नेपाल लाइभसँग कुरा गर्दै ती अधिकारीले बताए।
वस्तु आयातमा कमी, ९ महिनामा १२ खर्बमाथि आयात
पछिल्लो वर्षको सोही अवधिको तुलनामा चैत मसान्तसम्ममा वस्तु आयातमा करिब १८ प्रतिशतले कमी आएको छ।
‘आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२ खर्ब ०१ अर्ब ५१ करोड कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो।’
निर्यात स्थिति भने खुम्चिँदै, चैतमा जम्मा १४ अर्बको निर्यात
राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालको वस्तु निर्यात गर्ने स्थिति निरन्तर खुम्चिँदै गएको छ। अघिल्लो वर्षको सोही अवधिमा करिब ७० प्रतिशतले वृद्धि रहेको निर्यात यो वर्षको चैत मसान्तसम्ममा २६ प्रतिशतले कमी आएको छ।
‘आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई १ खर्ब १८ अर्ब २८ करोड कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो।’
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ खर्ब ४ अर्ब ८० करोडको निर्यात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।