काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुहरुको व्यवस्थापनका क्रममा भ्रष्टाचार भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा खुट्टा कमाएको दाबी गरेका छन्।
बिहीबार पार्टी मुख्यालय च्यासलमा पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लडाकु शिविरमा भ्रष्टाचार भए पनि अख्तियारले छानबिन गर्न खुट्टा कमाएको बताए।
शिविरमा रहेका लडाकुहरुका नाममा विनियोजन गरिएको रकम उनीहरुलाई वितरण नगरी भ्रष्टाचार गरिएको ओलीको दाबी छ।
ओलीले लडाकु शिविरमा भएको अनियमितताको छानबिन गर्ने माग गरे। ‘म अख्तियारलाई आग्रह गर्दछु। यो राज्यको सम्पत्ति हिनामिना हो। यसमा कारबाही गर्न लिरलिर गर्ने होइन, खुट्टा कमाउने होइन। कारबाहीको दायरमा ल्याउनुपर्छ,’ ओलीले भने।
सरकारले व्यापारीलाई सामुन्नेमा राखेर करको दर निर्धारण गर्ने काम गर्ने गरेर देशको अर्थतन्त्र असहज अवस्थामा पुगेको पनि ओलीले दाबी गरे।
अध्यक्ष ओलीले रेमिट्यान्स वढेको, अर्थतन्त्र सुधारतिर लागेको जस्ता गलत कुराले कमजोर अर्थतन्त्रको बचाउ सरकारले गरिरहेको आरोप लगाए।
उनले अहिले पनि लडाकुको नाममा वा अयोग्यको नाममा रकम वितरण गर्ने एकलौटी निर्णय गरिएको भन्दै यो गलत भएको दाबी गरे। उनले अहिले रकम वितरण गर्ने अनि फेरि अर्कोपटक पनि वितरण गर्ने कार्य हुनसक्ने भन्दै यस्तो कार्य रोक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।