काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई सुरुदेखि नै अनुसन्धानका लागि सहयोग गर्न भनेको दाबी गरेका छन्। काठमाडौमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकमा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन्।
‘रायमाझीलाई सुरूदेखि नै अनुसन्धानका लागि सहयोग गर्न भनेका थियौं,’ उनले भने, ‘फरार हुँदाको समयसम्म सचिवबाट निलम्बन गरेका छौं।’ महासचिव पोखरेले केन्द्रीय कमिटीमा जानकारी गराउँदै एमालेले उनलाई बचाउन जरुरी नभएको भन्दै दोषी देखिए कारबाही हुनुपर्ने बताए। उनले एमालेले विज्ञप्ति जारी गरेर नै निलम्बन गरेको र कारबाही हुनुपर्ने पक्षमा उभिएको दाबी गरे।
तर, रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको र सांसदसमेत रहेको व्यक्ति भागेर कतै नजाने भएकाले हतारहतार बाटोमै पक्राउ गर्न खोज्नु गलत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आपत्ति जनाएका थिए। उनले रायमाझीले अनुसन्धानमा सहयोग गर्ने, फरार नहुने बताएका थिए। तर रायमाझी हालसम्म पक्राउ पर्न सकेका छैनन्।
छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेपछि अर्घाखाँची पुगेका रायमाझी बाटैबाट फरार भएका थिए। सुरुमा एमालेले बचाउ गर्न कोसिस गरे पनि कांग्रेस नेता बालकृष्ण खाण बुधबार पक्राउ परेपछि दबाबमा परेर निलम्बन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।