एमाले अध्यक्ष ओली (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर भएको ठगी प्रकरणबारे पूरै ‘फिल्म’ देख्न बाँकी रहेको बताएका छन्।
पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पार्टी मुख्यालय च्यासल पुगेका ओलीले सञ्चारकर्मीसँग भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी छुट्न नहुने बताए।
‘... त्यसमा मेरो भन्नु केही छैन। दोषी छुट्नु हुँदैन। निर्दोष पर्नु हुँदैन,’ ओलीले भने।
सञ्चारकर्मीले ‘फिल्म त सुरु भयो नि?’ भनेर सोधेको प्रश्नको जवाफमा ओलीले देखाउने भनेको जति फिल्म अझै सुरु नभएको बताए। ‘जति फिल्म देखाउँछु भनेको हो, त्यो चाहिँ सुरु भएको छैन,’ ओलीले भने।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न रहेको भनेर उनीविरुद्ध पक्राउ पूर्जी जारी छ।
रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओली उनलाई जोगाउन लागेको भन्दै सार्वजनिक आलोचना हुँदै आएको थियो। यद्यपि बुधबार एमालेले रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ। रायमाझी भने अझै फरार छन्।
भुटानी शरणार्थी बनाएर भएको ठगी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले केही दिन अगाडि काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘यो ट्रेलर मात्रै हो, हेर्दै जानुस् सिंगै फिल्म देखिन्छ’ भनेका थिए।
ठगी प्रकरणमा संलग्न रहेको भनेर नाम सार्वजनिक भएका सत्ता पक्षका नेतालाई जोगाउन खोजिएको भन्दै एमालेले सरकारको आलोचना गर्दै आएको थियो। बुधबार मात्रै सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। प्रहरीले खाणलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।