प्रतिकात्मक तस्बिर
राँझा– दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका १ जनाको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो।
भेरी अस्पतालमा उपचाररत विकको बुधबार राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए। उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४ जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो। बाँकी ३ जनामध्ये १ जनाको अवस्था गम्भीर छ भने अन्य २ को अवस्था सामान्य छ।
भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ। अन्य ४ जना घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी डा चापागाईले बताए।
दैलेखको आठविस–६ माल्या जंगलमा बुधबार आगलागी हुँदा घाइते भएका ८ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।