काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। पार्टीका केही नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि कांग्रेस आन्तरिक छलफलमा छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले बुधबार नै पदाधिकारी बैठक बोलाएका थिए।
बैठकबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल चलिरहेको प्रहरी अनुसन्धान तथा सार्वजनिक भएका विषयहरुबारे धारणा सार्वजनिक गरिने बताइएको थियो। तर बुधबारको बैठकमा के–कस्तो धारणा सार्वजनिक गर्ने भन्नेबारे ठोस निर्णय भएन।
बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पक्राउ परेका नेता खाणलाई पार्टीको जिम्मेबार मुक्त (निलम्बन) गरिनुपर्ने धारणा राखेका थिए। तर सभापति देउवा मौन रहेका थिए।
सोही विषयमा छलफल गर्न बिहीबार पनि पदाधिकारी बैठक बस्न लागेको हो। बैठक पार्टी सभापति देउवाको निजी निवास धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बताइएको छ।
खाण पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।