काठमाडौं– अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन्।
एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०:४५ बजे काठमाडौं अवतरण गर्ने उडान तालिका रहेको छ।
डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो। काठमाडौं विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो।
जहाजले पुनःएप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थलले जनाएको छ। विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको हो।
अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छन्। दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन्। मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्स झण्डै एक घण्टा सिमरा माथिको आकाशमा होल्ड भएपछि भर्खरै अवतरण गरेको छ। सिङ्गापुर एयरलाइन्सले पनि केहीबेर होल्डमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।