काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेता वा नाता’ जे भए पनि दोषी उम्किन नहुने बताएका छन्।
प्रतिनिधि सभामा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। ‘नेता होस् कि नाता होस्’ यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन।’
विनियोजन विधेयकका सन्दर्भमा सबै बजेट ‘लक’ भएर छापिने अवस्थामा रहेको बेला भइरहेको छलफल कर्मकाण्डी जस्तो भएको उनले बताएका छन्।
‘यो प्रक्रियामा सरकार र सदन जोडिनुपर्छ। हामीले यसमा अन्यत्रको महिनौं अगाडिदेखि छलफल गर्ने असल अभ्यास अनुसरण गरेर असल परिपाटीको सुरुवात गर्न सकिन्छ,’ उनले भने, ‘विभिन्न विधामा बजेट विनियोजन भए पनि अपनत्व नभएका कारण धेरै कार्यक्रम अलपत्र छन्। अर्थतन्त्रमा रोग लागेको समयमा बजेट निर्माणमा संरचनागत सुधारका लागि अर्थमन्त्रीज्यूले विश्वास दिलाउने गरी काम गर्नुपर्नेछ।’
अर्थमन्त्रीले कठोर कदम चाल्न र जोखिम उठाउन तयार हुनुपर्ने पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।