काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै नागरिक आन्दोलन सुरु नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दबाब आन्दोलन सुरु गरेका छन्।
बुधबार अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेताहरुले मिलेर सो प्रकरणमा संलग्नहरुलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन्।
सो प्रकरणलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै धोका दिन सक्ने भएकाले आफूहरुले पनि दबाब आन्दोलन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक गोविन्द केसीले बताए।
उनले भने, ‘यसमा पनि षडयन्त्र हुन सक्छ। अहिले फेरी पनि धोका दिन सक्छन प्रचण्डले पनि। तर अब जनतालाई यिनीहरुले धोका दिन सक्ने अवस्था छैन। जनतामा अब कुनै पनि खालको षडयन्त्रमा पर्दैनन्। उनले विगतमा गरेको गल्ती कामहरुको पनि जवाफदेही हुनै पर्छ।’
अर्का नागरिक अभियन्ता संजीव उप्रेतीले सो प्रकरणलाई ढाकछोप हुन नदिन आफूहरुले दबाब आन्दोलन सुरु गर्नु परेको बताए। उनले देशलाई बदनाम हुन नदिन आफूहरु पनि लागिपर्ने चेतावनीसमेत दिए।
अभियन्ता उप्रतीले भने, ‘सो प्रकरणको छानबिनलाई रोक्ने, विषयान्तर गर्ने षडयन्त्र हुन सक्छन्। त्यसलाई रोक्न हामीले आन्दोलन सुरु गरेका हौं।’
नागरिक अभियन्ताहरुले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरु नै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गर्न नहुने पनि बताएका छन्। त्यसक्रममा उनीहरुले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरु प्रर्दशन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।