काठमाडौं- प्रमुख तीन दलका नेताको बैठकले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै किसिमको हस्तक्षेप नगर्ने सहमति गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सिंहदरबारमा बसेको बैठकमा उक्त सहमति भएको प्रधानमन्त्री प्रचण्डले जनाएका छन्।
नक्कली शरणार्थी प्रकरणको छानबिन प्रभावित हुन सक्ने संसयले सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘यसमा द्विविधा हुनुपर्ने कारण छैन। यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, उसलाई कुनै डिस्टर्भ गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
यसैगरी, उक्त छानबिनमा कुनै आशंका नगर्न पनि प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन्। सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘आशंखा गर्नुपर्ने केही छैन। हामीले बिल्कुल प्रष्ट पारेका छौँ। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले निर्देशन दिएका छौँ। प्रहरीले आफ्नो काम गरेको छ।’
उक्त प्रकरणमा बुधबार मात्रै कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् भने एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।