काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७४ सालको निर्वाचनसँग जोडिएका मुद्दाहरुलाई खारेज गर्ने फैसला गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित इजलासले ६ वर्षपछि उक्त रिटहरुको औचित्य सकिएको भन्दै खारेज गरेको छ।
तत्कालीन समयमा भएको निर्वाचन बदर हुनुपर्ने जिकिर रिटमा गरिएको थियो। संवैधानिक इजलासले प्रदीप पौडेल, भगवती चौधरी, दीपक खड्का, प्रेमबहादुर सिंह लगायतले दायर गरेको रिटलाई संवैधानिक इजलासले एकमुष्ट सुनुवाइ गरेर खारेज गरेको हो।
अघिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसँग सम्बन्धित १५ वटा विवाद सर्वोच्च अदालतमा पुगेका थिए। मतदानका क्रममा बूथ क्याप्चर भएको, कतिपय ठाउँमा धाँधली भएको, मतदानमा त्रुटि भएको, मतदान अधिकृतले अर्धकट्टी नच्यातेको, गणनाका क्रममा कानुनको पालना नभएको दाबी गर्दै रिटमा पुन: मतगणना र निर्वाचन गर्न माग गरिएको थियो।
समानुपातिक उम्मेदवारहरूले पनि विभिन्न कारणले आफूमाथि अन्याय भएको भनेर पनि रिट दायर गरेका थिए। समावेशी र समानुपातिक प्रक्रिया पूरा नभएको उनीहरुको जिकिर थियो। मंसिर ४ गते नयाँ निर्वाचन सम्पन्न भएर नयाँ संसद् चलिरहेको छ।
अघिल्लो पटक पराजित भएका प्रदीप पौडेल र भगवती चौधरी यस पटक विजयी हुँदै प्रतिनिधि सभा सासद रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।