काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकै दिन नेपाली कांग्रेसका युवा नेताहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।
उनीहरुले उपप्रधान तथा गृममन्त्री श्रेष्ठलाई कार्यकक्षमै भेटेर ऐक्यबद्धता जनाएका हुन्। श्रेष्ठलाई भेटेर ऐक्यबद्धता जनाउनेमा कांग्रेसका युवा नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्यलगायत छन्।
नेता कर्णले भने, ‘यसमा मेरै घरको मान्छे भएपनि नछाड्नुहोला। हामी तन–मन दुवै रुपमा सहयोग गर्न तयार छौं।’
नेपाली कांग्रेसबाट बल प्रदान गर्न आफूहरु आएको अर्का नेता गुरुराज घिमिरेले बताए। ‘जनतामा यो देशमा केही हुँदैन भन्ने निराशा छ, भ्रष्टाचारी राज्यबाटै संरक्षित हुन्छन् भन्ने छ। केहीको प्रभुत्व मुलुकमा चलेको भन्ने छ। जनताको जीवनमाथि खेलबाड भइरहेको छ। अहिले यो मुद्दामा हामी तपाईंलाई उत्साह र साथ सहयोग प्रदान गर्न आएका हौं,’ घिमिरेले भने।
उक्त भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन्। त्यही कारण सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास उनले दिलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।