काठमाडौं- सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट निर्माण प्रक्रियालाई मंसिरबाटै सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा सहभागी हुँदै सांसद थापाले उक्त प्रस्ताव अघि सारेका हुन्।
‘कात्तिकमा स्रोत समितिको बैठक राखौँ, खर्चको सिमाना निर्धारण गरौँ। मंसिरमा विनियोजन विधेययको सिद्धान्त संसदमा प्रस्ताव गरियोस्। एक महिना संसदमा छलफल गरौँ। पुसमा संसदबाट पारित भएको सिद्धान्तका आधारमा मन्त्रालयले सिलिङ र मार्गदर्शन पाओस्। माघबाट मन्त्रालबाट प्राप्त कार्यक्रम सहित संसदमा आओस्, हामी छलफल गर्छौँ, अर्थ समिति लगायत अन्य विषयगत समितिमा पठाउँछौँ,’ उनले भने।
त्यसपछि बजेट निर्माण प्रक्रिया अर्थ मन्त्रालयबाट सुरु थापाले बताए। ‘यो सँगसँगै बजेट कार्यान्वयनका लागि जुन ऐनहरु चाहिन्छ, त्यो पनि चैतमा संसदमा प्रस्तुत हुन्छ,’ सांसद थापाले भने, ‘चैत-वैशाखमा हामी नीति तथा कार्यक्रमहरु मात्र पारित गर्दैनौँ। यो बजेट कार्यन्व्यनका लागि चाहिने ऐन, नियम छ त्यो पनि हामी पारित गर्छौं, गर्न सकिन्छ।’
सांसद थापाले स्विडेन, न्युजिल्यान्ड लगायत देशको उदाहारण दिँदै बजेट निर्माण प्रक्रियालाई चुस्त बनाउनुपर्ने प्रस्ताव राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।