रामपुर– पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।
आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जंगलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ।
मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।
सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन्। घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए।
स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका छन्। चारैतिर जङ्गल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ। आगो नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्दै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए।
जंगलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ। आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उनकी बुहारी लक्ष्मी साठीघरे घाइते भएका छन्। घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ। आगलागीबाट के कति क्षति भयो त्यसको विवरण सङ्कलन भइरहेकाले आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।