काभ्रे– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन्।
काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईहरुसँग अपिल गर्न चाहन्छु।’
उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए। उनले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो, समानता चाहियो। तिनिहरुलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो। सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन, नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’
उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए। यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाइ थियो।
‘जुनजुन प्रदेश हिजोको राज्यबाट पछाडी पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु। म प्रधानमन्त्री भएपछि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश जसलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्यो, तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु। काठमाडौं वरिपरि नै भए पनि हिजोको राज्यसत्ताले पछाडी पारेका क्षेत्रहरु अर्थात पालिकाहरुलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिबद्धता छ। त्यही प्रतिबद्धता अन्तर्गत नै अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरु ओहिरिने छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।