विश्वप्रकाश शर्मा (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै सरकारले यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए।
सरकारले भ्रष्टाचारका विरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी कोही बच्नु नहुने बताए। महामन्त्री शर्माले सरकारले ल्याएको भ्रष्टाचार नियन्त्रण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्न ५ वर्षको हद म्यादको प्रस्ताव राखिनु शून्य सहनशीलताको नीतिसँग विबोधाभास हुने बताए। भ्रष्टाचारका विषयमा किन्तु, परन्तु नगरी छानबिनमा राज्यले कठोरतापूर्वक जानुपर्ने शर्माको भनाइ छ।
भ्रष्टाचार नियन्त्रण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्न ५ वर्षको हदम्याद राख्ने कुरामा सहमति हुन नसक्ने भन्दै सरकारलाई पछि हट्न आग्रह गरे। उनले वर्तमान सदनले आगामी २०९५ सालसम्म नेपाललाई विकसित बनाउन भिजन ९५ बनाउन आवश्यक रहेको बताए।
वितेको १० वर्षमा अर्बौंको बेरुजु र भ्रष्टाचार मुलुकको सामू रहेको शर्माले उल्लेख गरे। बितेका दशकमा निरन्तरको व्यापार घाटा र खान पुग्नेसम्मको उत्पादन नभएको स्थिति रहेको शर्माले उल्लेख गरे।
गत वर्ष मात्रै ४५ अर्बको चामल, २२ अर्बको तरकारी र फलफूल आयात भएको भन्दै महामन्त्री शर्माले हजारौँ युवाहरु कृषि क्षेत्रमा लाग्न तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।