काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्नेहरुमाथिको अनुसन्धान के भइरहेको छ? भन्दै प्रश्न गरेका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै गैरेले भने- जाँचबुझ के भइरहेको छ? छानबिन के भइरहेको छ? यसमा संलग्न को हुन्? यो सरकारले के गरिरहेको छ?
उनले विभिन्न समाचारहरुबाट केही व्यक्तिहरु पक्राउ परेको सुनेको बताए। 'केही व्यक्ति र सांसदलाई वारेन्ट गरिरहेका छन्, उहाँ भागिराख्नुभएको छ। केही सांसद नोटिसमा हुनुहुन्छ, समाचारमा आइरहेको छ, उहाँ सदनमै हुनुहुन्छ। सदनमै बोलिराख्नुभएको छ। यो के भएको हो?', उनले सोधे।
उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसवापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने जघन्य अपराध भएको बताए।
'यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो। देशद्रोही काम हो। त्यसकारणले यस्तो काममा संलग्न मानिसहरु छिटोभन्दा कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। कारबाही गरिनुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।