काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी बनाउनेहरुमाथिको अनुसन्धानमा फाइल खोल्ने मात्र हैन, फायर नै खोल्नुपर्ने बताएका छन्। प्रतिनिधि सभामा प्रि-बजेटको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद शर्माले निर्दोष फस्न नहुने तर दोषीलाई भने उन्मुक्ति दिन नमिल्ने बताए।
‘नक्कली भुटानी शरणर्थाी बनाउनेलाई निष्कर्षमा पुर्याउनुपर्छ। फाइल हैन, फायर खोल्नुपर्छ ’ उनले भने, ‘भ्रष्टाचारमा कसैलाई उन्मुक्ति दिनु हुँदैन। निर्दोष फस्न हुँदैन तर दोषीलाई छोड्न मिल्दैन।’
उनले आगामी ८० को दशक भएकाले यसमा भ्रष्टाचार र बेरुजु बन्नबाट रोक्नुपर्ने उनको तर्क छ। ‘हामी सत्ता र प्रतिपक्षबाट हैन, एकीकृत आँखाबाट हेनुपर्ने बेला आएको छ। बढ्दो ब्याजदर, बैंक क्षेत्रमा खराब कर्जासहित ७ कुरा अर्थमन्त्रीले उल्लेख गर्नु भएको छ। अहिलेको मुल समस्या यही वरिपरि छन्।’
यो समयमा सिङ्गो संसद् र दलहरुरुले बेतेको दशकको निर्मम समीक्षा गर्नुपर्ने उनले बताए। ‘विगतमा कुनै एक प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन पाएनन्। अहिले पनि हामी यो भन्न सक्ने अवस्थामा छैनौं कि जनताको मत पाएको कुनै एक दलले पाँच वर्ष सरकारमा चलाओस्,’ उनले भने, ‘त्यस्तै यो ससद पनि पाँच वर्ष चलाउने ग्यारेन्टी छैन।’
त्यस्तै विगतमा नीतिगत स्थिरता नदेखिएकोले पनि समस्या भएको शर्माले बताए। उनले कति बेला को सत्तापक्ष र प्रतिपक्ष हुने कुरा नदेखिएको भन्दै स्थिरतातिर अब नलाग्ने हो भने अर्को दशससम्म देशको अवस्था सुधार नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।