काठमाडौं- वाम गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार मंगलबार टुंगो लगाउने भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यलयमा बसेको बैठकले मंगलबार उम्मेदवार टुंगो लगाउने निर्णय गरेको हो।
सबै दलले मंगलबार सूची दिने एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए।
'गठबन्धनमा सहभागी दलले उम्मेदवारी सूची उपलब्ध गराएपछि प्रतिशतका आधारमा उम्मेदवारी टुंगो लगाउने तयारी छ', नेता पोखरेलले भने।
वाम गठबन्धनले निर्वाचनका लागि घोषणापत्र निर्माण समेत अन्तिम चरणमा पुर्याएको छ। आर्थिक समृद्धि र समाजवादलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको घोषणापत्र निर्माणको संयोजन गरिरहेका नेता वामदेव गौतमले बताए।
'आर्थिक समृद्धिमार्फत समाजवादलाई प्राथामिकतामा राखेर घोषणापत्रको मस्यौदा अन्तिम चरणमा पुगेको छ, दुई दिनमा पूर्णता पाउँछ', नेता गौतमले भने।
बैठकले यस्तै गठबन्धनले निर्वाचन सम्पन्न गर्नका लागि सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ । वाम गठबन्धनपछि अत्तालिएर सरकार निर्वाचनलाई प्रभावित गर्ने गतिविधिमा उद्दत रहेको ठहर गर्दै गठबन्धनले दबाव दिने निर्णय गरेको हो।
'राजनीतिक, नैतिक र संवैधानिक रुपमा चुनाव हुनुपर्छ । सरकार चुनावबाट पछि हट्ने काममा लागिरहेको छ हामी त्यसको विरोध गर्दै चुनाव समयमै सम्पन्न गर्न दबाब दिन्छौँ,' एमाले अध्यक्ष केपी ओलीले भने।
वाम गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी थिए । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले भने बैठकमा थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।