काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका हुन्।
उनले प्रधानमन्त्रीको परीक्षाको बेला आएको भन्दै सो प्रकरणमा आफूहरुको पूरा साथ, सहयोग रहने बताए। ‘देशको सबैभन्दा मुख्य समस्या भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौं भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौं। तबसम्म सुशासनको प्रत्याभूति गर्न सकिँदैन। भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ। त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताका साथ अगाडि बढ्नुपर्छ। उहाँको जाँचको बेला पनि आएको छ। हाम्रो पूरा साथ सहयोग रहन्छ’ नेपालले भने।
सत्ता सहयात्री दलहरुले पनि कुनै पनि दोषीहरु नउम्किउन् भनिसकेकाले प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए। तर निर्दोषहरु अनावश्यक रुपमा बदनाम हुने अपमान गर्ने काम भने गर्न नहुने नेता नेपालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।