काठमाडौं– कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ।
कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो।
आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शीर्ष नेताहरुकाविरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरुलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ।
त्यस्तै वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ। त्यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरुका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए।
नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गर्नेसमेत उनले जानकारी दिए। त्यस्तै, वैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ।
आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तिव्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रीत विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।