काठमाडौं- तनहुँ- १ र चितवन- २ मा कांग्रेस उम्मेदवारहरुले अनपेक्षित मतान्तरको हार बेहोरेपछि कांग्रेसको संस्थापन पक्षले दुई महामन्त्रीमाथि प्रश्न गरिरहेका छन्। देउवा पक्ष जबर्जस्त रुपमा भाष्य सिर्जना गरिरहेको छ- दुई महामन्त्रीलाई दिइएको काम सफलतापूर्वक फत्ते गर्न सकेनन्।
उनीहरुलाई थाहा छ- कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगन थापालाई तनहुँ- १ र विश्वप्रकाश शर्मालाई चितवन- २ मा चुनावी कमान्डर होइन, मनोनयन दर्ताका लागि खटाउने निर्णय गरेको थियो। तनहुँ- १ मा चुनावी कमान्डर देउवा पक्षकै नेता शंकर भण्डारी थिए। जसले औपचारिक पत्रसमेत बुझेका थिए। चितवन- २ को जिम्मेवारी बालकृष्ण खाणलाई दिइएको थियो। औपचारिक पत्र बुझ्न भने उनले मानेनन्। त्यहीबीचमा उपेन्द्र यादवले बारा- २ मा खाणको आवश्यकता महसुस गरेपछि त्यताबाट पछि चितवन पुगेका थिए।
यही चुनावलाई केलाउने हो भने त्यहाँ कांग्रेसका उम्मेदवार निर्वाचित भएको भए यतिबेला देउवा पक्षले चुनावी कमान्डरहरुलाई दृष्यमा ल्याइसक्थ्यो। उनीहरुको जयजयकार भइसक्थ्यो। पराजित भएका कारण त्यसको अपजस अहिले महामन्त्रीको टाउकोमा हाल्न उक्त पक्ष तल्लीन देखिन्छ।
पुराना पार्टीका शीर्ष नेताहरुको सत्ता 'म्युजिकल चियर'बाट आजित आमजनले मंसिर- ४ को निर्वाचन र वैशाख १० को उपनिर्वाचनबाट आफ्नो बाटो स्पष्ट गरेका छन्। नयाँ पुस्ताको अपेक्षा अनुसारको राजनीति गर्ने युवा नेताहरुको हस्तक्षेपकारी भूमिकाबाट मात्रै पुराना पार्टीले आफ्नो सान्दर्भिकता कायम राख्न सक्छन्।
नेपाली कांग्रेस युग सुहाउँदो पार्टी बनाउने हो भने युवाले आशा गरेका दुई महामन्त्री उससँग 'पुँजी'का रुपमा छन्। तर, कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीदेखि आमचुनावसम्म अपजस पाउने काममा उनीहरुलाई अघि सार्ने र अवसरचाहिँ आसेपासेलाई दिने गरेका छन्।
युवा महामन्त्रीद्वयबाट आमजनमा रहेको आशालाई संरक्षण गर्नुको सट्टा 'केही गर्न नसक्ने'को कित्तामा पुर्याउन खोजिरहेको घटनाक्रमहरुले देखाइरहेका छन्।
देउवा प्रवृत्ति : साथ दिनेलाई महत, टाढिनेलाई प्रदीप बनाउने!
गएका दुई वर्षमा नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यास दुई पटक गर्यो। एकपल्ट महाधिवेशन र अर्कोपल्ट संसदीय दलको निर्वाचनमा। ती दुई निर्वाचनबाट फरक खालको नतिजा आएका छन्। आम कार्यकर्ताहरुले मतदान गर्ने महाधिवेशनको निर्वाचनमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जित हासिल गरे। जहाँ खसेको ४६८२ मतमा गगन थापाले ३०२३ ल्याएका थिए। कुनै गुटमा नपर्दा पनि विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेर जित हासिल गरेका थिए। नेताहरुको विश्वास भने थापाले हासिल गर्न सकेनन् र केही महिनाअघि भएको संसदीय दलको निर्वाचनमा पराजित भए।
सत्ता राजनीतिमा चलाख देउवासँग टाढिँदा अवसरबाट बञ्चित हुने डरले थापालाई मन दिएकाहरुलेसमेत संसदीय दलको निर्वाचनमा मत दिन सकेनन्। मन र मत दुवै दिनेहरु 'प्रदीप पौडेल' भइरहेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएर सांसद बनेका उनले अवसर पाउने सम्भावना क्षीण बनेको छ। देउवालाई आँखा चिम्लेर साथ दिनेहरु 'डा प्रकाशशरण महत' बनाइएका छन्। जो न पार्टीमा अनुमोदन हुन्छन्, न जनतामाझ गएर निर्वाचित हुने ल्याकत राख्छन् तर पार्टी र सरकारमा उनीहरुकै हालीमुहाली छ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्षलाई चुनाव हराएर संसद्मा पुगेका उनलाई महामन्त्रीद्वय दुवै र डा शेखर कोइराला सक्रिय हुँदासमेत मन्त्री बनाउन सकिरहेका छैनन्। महामन्त्रीद्वयले एकसाथ र एक्लाएक्लै देउवालाई भेटेर पौडेललाई उपयुक्त मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताएका थिए। उनीहरुको 'मन्त्री बनाउने हैसियत नभएको' प्रमाणित गर्न देउवाले खोजिरहेका छन्। देउवाइतर भनेर किनाराकृत गरिएका क्षमतावान सांसदका लागि तीन मन्त्रालय माग्दा पनि पाउन सकिरहेका छैनन्। परिणाम दिन सक्ने युवा नेताका रुपमा हेरिएका पौडेललाई रोकेर 'देउवा नरोज्नेहरु सकिन्छन्' भन्ने उदाहरण प्रस्तुत गर्ने उक्त गुट सक्रिय छ।
तनहुँ- १ मा कांग्रेस बढार्ने 'स्वर्णिम हुरी' समेत देउवाले नै निम्त्याएका हुन्। कांग्रेसबाट मंसिर ४ मै चुनाव लड्ने आकांक्षा जताएका वाग्लेलाई देउवाले रोके। कांग्रेसमा विभिन्न पेशामा सफल भएकाहरुकोसमेत प्रवेश सहज बनाउनुपर्ने बताउँदै आएका महामन्त्री थापाले प्रयास गरे। आफैं निर्वाचन लडिरहेको काठमाडौं- ४ त्याग गर्न समेत खोजे। निर्वाचन लड्न नपाएका वाग्लेले कांग्रेसमै सक्रिय रहन राष्ट्रपति रामचन्द्र पौडेलको अवैतनिक सल्लाहकार बन्न प्रयास गरे। त्यहाँ समेत देउवाले रोक्नुको परिणाम तनहुँ- १ मा बेहोर्नु परेको छ।
कांग्रेसको गढ मानिने उक्त निर्वाचन क्षेत्रमा गोविन्द भट्टराईजस्ता क्षमतावान उम्मेदवारले पराजित हुन परेपछि कांग्रेसजनमा सन्नाटा छ। कतिले त पार्टीबाट अलग्गिने निर्णय गरिसकेका छन्। परिस्थिति यही रह्यो भने अर्को चुनावको संघारमा कांग्रेसका लागि घन्टीको आवाज अझ कर्कस बन्नेछ।
अजेन्डा अनुमोदित, रोग उही
पार्टीको आन्तरिक निर्वाचनमा महामन्त्रीद्वय थापा र शर्माको लोकप्रियता मात्रै होइन, अजेन्डासमेत अनुमोदन भएका हुन्। जहाँ अहिले सभापति देउवाले जसरी पार्टी चलाइरहेका छन्, त्यसरी चलाउँदा हानी भइरहेको उनीहरुका अजेन्डामा थियो।
महामन्त्रीको उम्मेदवार बन्दा थापाले २०७८ मंसिर २३ गते 'पार्टी रुपान्तरण र पुन: जागरणको प्रस्ताव' सार्वजनिक गरेका थिए। त्यहाँ उनले देशभरि डुल्दा आम कांग्रेस कार्यकर्ता र शुभेच्छुकबाट प्राप्त सुधार्नुपर्ने 'दुर्बल पक्ष' भन्दै उक्त अवधारणा पत्रमा केही बुँदा राखेका थिए। पार्टी सञ्चालन गर्दा निरन्तर विधान उपेक्षित हुने गरी संस्थागत भएको अलोकतान्त्रिक परम्पराले कांग्रेस पार्टी रोगाएको उल्लेख थियो। कोठे राजनीति र अपारदर्शी निर्णय प्रक्रिया अनि सर्वोच्च तहदेखि नै पार्टी संरचनामा व्यक्तिगत र गुटगत महत्वाकांक्षा हाबी भएको बताइएको थियो। त्रुटिपूर्ण आन्तरिक मूल्यांकन पद्धति र क्षमताको अवमूल्यन गर्ने प्रवृत्ति रहेकोसमेत बताइएको थियो। त्यही सुधार्ने भनि उनले अघि सारेका अजेन्डामा लोकप्रिय मत पाएका थिए।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले 'दल रुपान्तरणको अर्थ र खोजिने परिणाम' भन्दै ९ बुँदामा उल्लेख गरेका थिए। उनले दल र दलका भ्रातृ र शुभेच्छुक संस्थाहरुको घरेलु जीवनको परिमार्जित व्यवस्थापन, दलभित्र योगदान र योग्यताको उचित सन्तुलन, नेपाली समाजको बनोट अनुरुपको चित्र नेतृत्वमा प्रतिबिम्बित हुने स्थिति र निर्णय प्रक्रियामा स्वामित्व बोधको वातावरण, दल र दल संलग्न कुनै पनि तहको सरकारको 'सर्भिस डेलिभरी' को क्षमतामा बढोत्तरी हुनुपर्न थियो। जसलाई कांग्रेसका निर्वाचन प्रतिनिधिहरुले रुचाएका हुन्।
कांग्रेसले पहिलो चरणको निर्वाचनबाट सभापति छान्न नसकेपछि दोस्रो चरणमा गएको थियो। दोस्रो चरणमा देउवासँग डा शेखर कोइरालाले प्रतिस्पर्धा गरेका थिए। त्यसक्रममा गगन थापाले कांग्रेसका प्रतिनिधिलाई प्रश्न गरेका थिए, 'संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ। के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त?'
देउवा आफैंलाई मौजुदा कार्यशैली 'मन परेको' थिएन। त्यसैले प्रकाशमान सिंहसँग भोट माग्दा 'कार्यशैली सुधार्ने' बताएका थिए। देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले भनेका थिए, ‘हामी बीचको छलफलमा उहाँ(देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ।’ देउवाले कार्यशैली सुधार्ने भनेर गएकाहरुको अवस्था 'अंग्रेजी कक्षामा लालु यादव' नामक ठट्यौली जस्तो हुन पुगेको छ।
अपजसमा महामन्त्री अगाडि
दुई वर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्ने कपाली तमसुक बोकेर बसेका देउवालाई कांग्रेस बलियो वा कमजोर हुनुसँग अझै पनि कुनै दिलचस्पी देखिँदैन। उपनिर्वाचनमा पार्टीका उम्मेदवारको अवस्था दयनीय बनाउनुमा सभापतिका रुपमा आफ्ना कमजोरी देख्दैनन्। बरु 'सामाजिक सञ्जालमा पुराना दललाई आक्रमण भएको' गुनासो गर्छन्।
सामाजिक सञ्जालमा रहेकाहरु नै मतदान मात्रै होइन, 'ओपिनियन मेकर' मा रुपमा आमजनलाई प्रभावित पार्न सक्छन्। उनीहरु सभापति देउवाले नेतृत्व गरिरहेको कांग्रेसबाट आजित रहेको उनले बुझ्न सक्दा सुध्रिने आशाको ठाउँ रहन्थ्यो।
आफू लागि परेपछि परिणाम दिनेगरी सक्रिय हुने स्वभावका महामन्त्री देउवाले पाएका छन्। उनीहरुको त्यो क्षमतालाई देउवाले उपयोग गर्न चाहेका छैनन्। पार्टी निर्माण, आफूले नेतृत्व गरेका वा सहभागी भएका सरकारको परिणाम लगायतका कामका लागि उनीहरुलाई अघि सार्नुपर्ने हो। तर, उनी त्यतातिर रोकिरहेका छन्।
मंसिर ४ को निर्वाचनपछि देउवाले सत्ता गठन प्रक्रियामा इतरपक्षलाई ढिम्किनै दिएनन्। निकटस्थहरुलाई वरीपरी राखेर माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डिल गर्दा सत्ताच्युत हुनुपर्यो। सत्ताबाहिर बस्नै सकस पर्ने बानी बनाइसकेका देउवाले पुन:प्राप्तिका लागि सक्नेजति सबथोक गरे। प्रतिपक्षमा बसेर प्रचण्डलाई विश्वासको मत दिए। सत्ता पुन:प्राप्तिका हरेक बैठकमा देउवाले इतरपक्षका नेताहरुको उपस्थिति समेत 'अनिवार्य' बनाए।
त्यसअघि एमसीसी प्रकरणमा कांग्रेसलाई अप्ठ्यारो पर्यो। तत्कालीन समय प्रधानमन्त्री रहेका देउवालाई उनकै सहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादीलेसमेत साथ नदिने अवस्था बन्यो। आमजनमा एमसीसीका विषयमा भ्रमहरु छरिए। त्यसबेला उनलाई सफल बनाउन महामन्त्री थापा अघि सरे। उनले 'व्याख्यात्मक टिप्पणी' को उपाय मात्रै सुझाएनन्, भ्रम फैलिए जस्तो अवस्था आए 'चारपाटा मुडेर थानकोट कटाउन' भने।
पार्टीको नीति र सभापतिको अडानलाई कार्यान्वयन गर्ने क्रममा उनले आफ्नै सार्वजनिक छवि दाउमा राखे। सत्ता र त्यसको तर मार्ने अनेक उपाय खोजी बस्ने देउवाले त्यसलाई योगदान सम्झेनन्। बरु आमजन र कांग्रेसीमाझ लोकप्रिय थापाको छवि धमिल्याउने उपयुक्त अवसर बनाए।
अवसर पार्टीको कि आसेपासेको?
कांग्रेसको हातमा सत्ता फर्केर आएको छ। देउवाले यसलाई दुई तरिकाले प्रयोग गर्न सक्छन् पहिलो पार्टीको धुमिल बन्दै गएको छवि सुधार्नका लागि। उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुलाई जनाउ घन्टी बजाएको छ- सच्चिने कि सकिने? त्यसको डर कांग्रेस नेताहरुमा अझ बढी छ। किनभने स्वर्णिमको प्रवेशपछि उक्त पार्टी 'वैकल्पिक लोकतान्त्रिक दल'का रुपमा उदाउन सक्ने राजनीतिक विश्लेषकहरुले समेत बताइरहेका छन्।
यही भएर कांग्रेसको देउवा पक्ष आउने चार वर्षपछि अवसर नपाइने भनेर आत्तिरहेको छ। किनभने चार वर्ष सत्ता चलाउँदा जनताले अपेक्षा गरेको विकास र सुशासन दिन सकिने आत्मविश्वास उक्त पक्षसँग छैन। मन्त्रीमण्डलदेखि अन्य विकासे अड्डा निकटस्थहरुको भर्ती केन्द्र बनाइएका कारण परिणामको अपेक्षा उनीहरुले नै गर्न सकेका छैनन्।
तर, प्राप्त सत्ता आफू आसेपासेका लागि होइन, सच्चिने बाटोतिर जाँदा यहाँनेर अवसर रहेको कांग्रेस संस्थापनइतर पक्षको बुझाइ छ। उपनिर्वाचनको परिणामका विषयमा इतर पक्षले एउटा निष्कर्ष निकालेका छन्, 'चुनावको अघिल्लो वर्ष यस्तो परिणाम आएको भए आत्तिनुपर्थ्यो। चार वर्षअघि नै आएको छ। त्यसैले यसलाई हामीले काम गर्ने शैली सुधार्ने अवसरका रुपमा लिनुपर्छ। किनभने हामी संघीय सरकार, अधिकांश प्रदेश सरकार र ३२९ स्थानीय सरकारमा छौं। यी सवै ठाउँबाट परिणाम दिन सक्दा जनताले अनुमोदन गरिहाल्छन्।'
आफूसँग सरकार हुँदा परिणाम दिन नसक्ने तर फेरि जनताले अनुमोदन गर्ने विषयमा चिन्ता लिने कुरा सही होइन। अहिले स्थानीयदेखि केन्द्र सरकारमा हालीमुहाली हुँदा परिणाम दिन नसकेमा कांग्रेसले चार वर्षपछि के भनेर मत माग्ने?
पार्टी भोट बैंक मिसाएर जित्ने 'प्राविधिक राजनीति' लाई गएको निर्वाचन र उपनिर्वाचनमा आमजनले चुनौती दिइसकेका छन्। त्यसैले अब जनतामा जाँदा आफूले गरेका कामको फेहरिस्तका साथै आगामी कार्यकालमा गर्न सक्ने विश्वसनीय आधार प्रस्तुत गर्नुपर्नेछ। जसका लागि कांग्रेसले कार्यशैली परिवर्तन गर्न अपरिहार्य छ।
वर्तमान समयका नेपाली जनताको अपेक्षा अनुसारको काम गर्ने मानसिकता सभापति देउवाको देखिँदैन। अबका चार वर्ष 'एक दिन, एक परिणाम' नदिए कांग्रेस संकटमा पर्ने युवा पुस्ताका नेताको बुझाइ छ। उदाइरहेका पार्टीको मुख्य अजेन्डा 'सुशासन' छ। चार वर्षमा त्यतातिर वर्तमान सत्ता गठबन्धन गइरहेको अनुभूत गराउनुपर्नेछ।
त्यसका लागि आमजनले विश्वास गर्न सक्ने पात्र अघि सार्नुपर्ने हुन्छ। प्रचण्ड सरकारमा कांग्रेसले सम्हालेका मन्त्रालयले दिने परिणाममा फरक नतिजा निस्किनुपर्छ। नेतृत्व गरेका प्रदेश र स्थानीय सरकारको 'डेलिभरी' अपेक्षाकृत हुनुपर्छ।
कांग्रेसले देखिनेगरी सुध्रिने संकेत गर्ने हो भने उसको भागमा परेको दुई वर्षे प्रधानमन्त्रीको कार्यकाललाई देउवाले त्याग गर्ने आँट गर्नुपर्छ। सात चोटी प्रधानमन्त्री बन्ने ज्योतिषको अनुमानलाई यथार्थमा परिणत गर्न दिलोज्यान दिएर लागिरहेका देउवाबाट उक्त कुरा सम्भव छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।