भरतपुर– चितवनमा वन्यजन्तुको आक्रमणबाट (सरदर) हरेक महिना १ जनाको मृत्यु हुने गरेको देखिएको छ। चितवन राष्ट्रिय निकुञ्ज र अन्य वन क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत २०७९) सम्म ९ जनाको मृत्यु भएको छ।
६ जनाको निकुञ्ज क्षेत्रमा र ३ जनाको डिभिजन वन क्षेत्रमा मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा १ जना बाघको आक्रमणबाट, २ जना गैँडाको आक्रमणबाट, ३ जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ। अन्य ३ जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो।
डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको तिवारीले बताए। यस्तै, चालु आर्थिक वर्षमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना भएको उनले जानकारी दिए। उनका अनुसार पशुधन क्षति १२३ वटा, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति २४० पटक भएको छ।
निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप १ करोड ५० लाख ७१ हजार १११ रकम बुझाएको तिवारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।