काठमाडौं- नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती लगायतका विषयमा केन्द्रित रहेर अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंको 'याक एन्ड यति' होटलमा 'एडुक्लेभ' आयोजना गर्न लागेको हो।
शिक्षा क्षेत्रका सरोकारवाला, नीति निर्माता, विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदातालाई एकै थलोमा भेला गरेर उच्च शिक्षाका सम्बन्धमा गहन मन्थन गर्ने उद्देश्यले एडुक्लेभको आयोजना गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा तीन वटा प्यानल डिस्कसन हुनेछन्। 'हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यकता' शीर्षकमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापा, इक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले अन्तर्क्रिया गर्नेछन्।
यस्तै, 'विदेशिने नेपाली विद्यार्थी : अवसर वा जोखिम' शीर्षकमा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, पूर्व सचिव शिशिरकुमार ढुंगाना, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशीबीच अन्तर्क्रिया हुनेछ।
यसैगरी, 'वैदेशिक शिक्षाको प्रभाव' विषयक छलफलमा पूर्व शिक्षामन्त्रीद्वय गंगालाल तुलाधर, शिशिर खनाल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा र ठमेल डटकमका संस्थापक बालकृष्ण जोशीले भाग लिनेछन्।
वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेका छन्। उच्च शिक्षाको खोजीमा विद्यार्थी बाहिरिने ट्रेन्ड बढ्दो रहेकाले यस क्षेत्रमा काम गर्ने परामर्शदाता र व्यवसायीलाई थप जिम्मेवार बनाउन र चुनौतीसँगै अवसरका बारे पनि सचेत गराउन एडुक्लेभ आयोजना गरिएको कार्यक्रमको सहआयोजक भेड इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।