काठमाडौं- आदर्श नारी सीताको जन्म भएको दिन आज (शनिबार) जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदैछ। त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन घरघरमा विशेष रुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिए।
बिहानैदेखि जानकी मन्दिर, राममन्दिर र जनक मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुको भीड लागेको छ। बिहानै दूधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनःबधाई गानको कार्यक्रमसहित जन्मोत्सव मनाइरहेको उनले जानकारी दिए।
त्रेतायुगमा मिथिला र अवध क्षेत्रको अगाध सम्बन्ध स्थापित गर्न भगवान् राम र माता जानकीको अतुलनीय योगदान रहेको छ। यहाँ हरेक वर्ष, राम नवमी, विवाह पञ्चमी र जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ। जानकी नवमीको अवसर पारेर मधेस प्रदेशका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटक जनकपुर पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।