काठमाडौं- वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ। महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए।
‘जथाभावी फोहर फाल्नेलाई हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत रुपमा घटेको छैन।’ त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए।
गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी तीन सय ६२ जनाबाट महानगरले रु आठ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ। ‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ’, मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।