काठमाडौं– कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ।
बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर प्रहरीले उक्त ताला खोलेको मेयर बालेन शाहले जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा ताला फोडेको भिडियो राख्दै विद्यालय पढ्ने ठाउँ भएकाले राजनीति नगर्न चेतावनी दिए।
‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौ,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुस्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको छ।’
शुक्रबारदेखि सबै विद्यालयहरूमा ‘बुक फ्री डे’ सुरूआत हुन लागेको थियो। त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सोही कोठामा भएको हुँदा ताल्चा खोलिएको हो।
बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो। युनियनले भने कार्यक्रम गर्न पाउनुपर्छ भन्दै महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।