काठमाडौं– वैशाख ६ गते प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका अधिकृतहरुको पदस्थापन गरिएको छ।
बढुवा भएर दर्ज्यानी चिह्न (फुली) लगाएको १ हप्तापछि १३ जना डीआईजीहरुले जिम्मेवारी पाएका हुन्। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार डीआईजीहरुको पदस्थापन गरिएको हो।
डीआईजी विष्णु कुमार केसी प्रहरी प्रधान कार्यालयको योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन भएका छन्। यस्तै, भरत बहादुर बोहराले सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्।
रविन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन हुँदा राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी प्रमुखकको जिम्मेवारी पाएका छन्।
चन्द्र कुबेर खापुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालको प्रहरी महाशाखामा पदस्थापन भएको छ। डीआईजी जनक भट्टराईले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।
लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन भएको छ। डीआईजी सुरेन्द्र प्रसाद मैनालीको प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ।
अर्जुन चन्द ठकुरीको साइबर ब्यूरोमा पदस्थापन भएको छ। यस्तै, यज्ञ बिनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पदस्थापन भएको छ। डीआईजी बिकाश राज खनालको प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालय नक्सालमा पदस्थापन भएको छ।
सामान्यतया बढुवा भएर फुली लगाएकै दिन प्रहरी अधिकृतहरुको पदस्थापन हुने गर्छ। तर, बढुवा भएका अधिकृतहरुले आकर्षक ठाउँ (विशेष गरी प्रदेश प्रहरी प्रमुख) ताक्दा पदस्थापनमा ढिलाइ हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।