काठमाडौं– अन्तपूर्ण हिमाल आरोहणका क्रममा एक आरोही बेपत्ता भएका छन्। हिमाल आरोहणका क्रममा भारतीय आरोही सोमबार दिउँसो बेपत्ता भएका हुन्।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट उनी बेपत्ता भएको सेभेट समिट ट्रेक्सले जनाएको छ।
सेभेट समिटका प्रवन्धक तानेश्वर गुरागाईंका अनुसार बेपत्ता हुनेमा भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु रहेका छन्।
‘आरोहण सफल नभएपछि आधार शिविरमा फर्किने क्रममा चिप्लिएर लडेर बेपत्ता भएको खबर आएको छ’, उनले भने, ’खोजी जारी राखे पनि भेटिएका छैनन्।’ मालु सेभेन समिट टे«क्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए।
मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका थिए।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण सुरु भएको थियो। उनको खोजी गरिएपनि सोमबार साँझसम्म उनको अवस्था अज्ञात नै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।