काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओली अस्वस्थ भएका कारण पछिल्लो समय शीर्ष नेताको तहमा भइरहेको भेटवार्ता समेत प्रभावित भएको छ।
संसद्मा विचाराधीन रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको थियो। सभामुख देवराज घिमिरेको पहलमा २ पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता समेत भएको थियो।
तर, एमाले अध्यक्ष ओली अस्वस्थ हुँदा पछिल्लोपटक हुने भनिएका भेटवार्ताहरु प्रभावित भएका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
अध्यक्ष ओलीको स्वास्थ्यावस्था बुझ्न र संसद्मा रहेका विधेयकहरुबारे छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा सोमबार बिहान ओलीको निजी निवास भक्तपुरको बालकोट जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड र देउवा सोमबार बिहान ९ बजेतिर बालकोट जान लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।