काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन्।
आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएकी हुन्।
केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो।
सोही घटनाको बिषयमा थप सत्यतथ्य छानबिन गरि विभागीय कारबाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ।
‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तर्गत हुने कुनै पनि अनियमितता, भ्रष्ट्राचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन। जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भइरहेको छ त्यस विषयमा तत्काल छानबिन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन्।
मन्त्री श्रेष्ठले कास्की मात्रै हैन अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरि रिपोर्ट पेस गर्न पनि निर्देशन दिएकी छन्। मालपोत र नापी कार्यालयहरूमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्यूनीकरण गर्ने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।