काठमाडौं- नेपाली कांग्रेसले आइतबार एनपी साउदलाई मन्त्री परिषद्मा सहभागी गराएको छ। परराष्ट्रमन्त्रीका रुपमा साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भएका हुन्।
जम्मा ८ मन्त्रालय पाएको कांग्रेसले दुईपटक गरी ५ मन्त्री पठाएको हो। कांग्रेसको भागमा परेका तीन मन्त्रालय अझै खाली छन्।
कांग्रेसले पठाएका पाँचै मन्त्री पार्टी सभापति शेरबहादुर देउवानिकट हुन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै नेता शेखर कोइराला पक्ष अझै सरकारमा सहभागी भएको छैन। मन्त्रालयको संख्या, मन्त्री र मन्त्रालयको जिम्मेवारीमा कुरा नमिल्दा उक्त पक्ष सरकारमा सहभागी नभएको हो।
कांग्रेसमा गुटका हिसाबले मन्त्रीमण्डल हालसम्म ‘असमावेशी’ देखिएको छ। गुटगत समावेशिताका लागि सभापति देउवामाथि चर्को दबाब समेत परेको छ। तर, कांग्रेसबाट प्रतिनिधित्वका हिसाबले समेत मन्त्रीमण्डल समावेशी देखिएको छैन। जबकी गत पुस ५ गते प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गर्दा स्पष्ट मापदण्ड तय गरेको थियो।
नेपाली कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकले मन्त्रीहरू छान्दा समावेशी र प्रादेशिक सन्तुलन मिलाइने निर्णय गरेको थियो। वर्तमान अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकपछि प्रतिक्रिया दिने क्रममा भनेका थिए, ‘मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक प्रतिनिधित्त्वको क्राइटेरिया बनेको छ।’
मापदण्डमा रहेको ‘योग्यता र योगदान’ प्रष्ट छुट्टिदैन। बाँकी रह्यो- समावेशिता र प्रादेशिक सन्तुलन। यो दृष्टिबाट समेत कांग्रेसले निर्णयको पालना गर्ने सम्भावना कमजोर बन्दै गइरहेको छ।
सभापति देउवा पक्षले पाँच जना मन्त्री बनाएको छ। जसमा उपसभापति पूर्णबहादुर खड्का रक्षामन्त्री छन्। अर्थमन्त्री महत, परराष्ट्र मन्त्री साउद, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ छन्।
पाँच जनामा जम्मा एकजना सीता गुरुङ छिन्, जसले महिलाका साथै आदिवासी जनजातीको समेत प्रतिनिधित्व गर्छिन्। प्रदेशको सन्तुलन समेत हेर्दा उनले तीनवटा मापदण्ड एक्लैले पूरा गर्नुपर्ने अवस्था छ। अन्य चारजना खसआर्य समुदायका पुरुष छन्।
समावेशितामा मधेशी र दलित समेत अट्नुपर्थ्यो। मधेशी समुदाय मधेश प्रदेशबाट समेटिने सम्भावना रहन्छ। उक्त क्षेत्रबाट समेत पर्सा- ४ बाट निर्वाचित खसआर्य समुदायकै रमेश रिजाल छानिएका छन्। मधेश प्रदेशको प्रतिनिधित्व भएपनि भावनाको प्रतिनिधित्व हुने सम्भावना न्यून बनेको छ। प्रदेशगत हिसाबले हेर्दा भने हालसम्म बनेका मन्त्रीहरू फरक-फरक प्रदेशबाट प्रतिनिधित्व गर्छन्। खड्का (कर्णाली), साउद (सुदूरपश्चिम), महत (बागमती), रिजाल (मधेश) र गुरुङ (कोशी) छन्।
बाँकी रहेका तीन मन्त्रावयमा प्रदेशमा गण्डकी र लुम्बिनीबाट प्रतिनिधित्व गराउनुका साथै समुदायका हिसाबले मधेशी र दलित पठाउनुपर्ने कांग्रेसको मापदण्डमा छ।
मन्त्रीका लागि चर्चामा रहेका नामहरू हेर्दा त्यो सन्तुल मिल्ने सम्भावना कम छ। अब बन्ने मन्त्रीहरूमा मोहन बस्नेत, धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डे, डिकबहादुर लिम्बुलगायतको नाम चर्चामा छ।
मन्त्री बन्ने लाइनमा भने मधेश प्रदेशबाट धनुषा- २ बाट निर्वाचित रामकृष्ण यादव पनि छन्। सहमहामन्त्री समेत रहेका उनी राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन्। देउवाइतर पक्षमा भएकै कारण उनी मन्त्री बन्ने सूचीमा परेनन्। दलित समुदायका साथै गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने जीवन परियार पनि देउवाइतर समूहमा छन्। उनलाई पनि मन्त्री बनाइने सम्भावना कम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।