काठमाडौं– वैशाख ५ गतेदेखि काठमाडौंमा सुरु हुने (एसियन क्रिकेट काउन्सिल) एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि आईसीसी विश्वकप क्रिकेट लिग २ खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी र ललित राजवंशी छन्।
अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ। श्याम (मौसम) ढकालको स्थानमा किशोर महतो वैकल्पिक खेलाडीको रुपमा अटाएका छन्।
यसअघि प्रारम्भिक टोलीमा परेका देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल अन्तिम टोलीमा पर्न सकेनन्।
एसियाका टेस्ट खेल्ने बाहेक १० देशका एसोसिएट टोलीले एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछन्। १० टोलीलाई ‘ए’ र ‘बी’ गरी २ समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा नेपालसँगै, ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। उद्घाटन खेल नेपाल र मलेसियाबीच मंगलबार त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।