काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘खास्टोले ढाकेको बिरालो’ भएको टिप्पणी गरेका छन्। राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने निर्णयको आलोचना गर्दै केसीले तत्कालीन गृहमन्त्रीका रुपमा उक्त निर्णय गर्ने लामिछानेलाई ‘बिरालो’सँग तुलना गरेका हुन्।
तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै केसीले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताए।
केसीले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाड्न नहुने पनि बताए।
अध्यक्ष केसीले भने, ‘राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिइनु आपत्तिजनक छ। एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य छ। त्यसमाथि यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्डभन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ। देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन। जुनसुकै आवरणमा प्रकट भएपनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु बाञ्छनिय हुन्छ। पुराना पार्टीहरुले नै गल्ती गरेका थिए। उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे। नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मख्ख परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्यो। त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोड्न हुन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।