काठमाडौं– नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले शनिबार पनि सेती नदीको खोँचमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको बताउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने भट्टराईले माग गरिन्।
सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझावअनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताइन्।
सांसद भट्टराईले भनिन्– ‘हिजो पोखरामा दु:खद् घटना घटेको छ। सेती नदी पोखराको सुन्दरता हो। यसको खोँचमा धेरै नागरिकहरुको जीवनको क्षति भएको छ। हिजो ३ बजेतिर खेलीरहेका बेला १५ नम्बर वडा अवस्थित सिताराम हाउजिङ नजिकै स्मृति पराजुलीको सेती खोँचमा परेर उहाँले आफ्नो जीवन गुमाउनु परेको छ। म १२ वर्षीया स्मृति पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँको आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। धेरै पटक सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउनु पर्छ भनेर संसद्मा पटकपटक आवाज उठाइको छ। खासगरी पोखराका भूगर्भविद्हरुले अध्ययन गर्दा सेती नदीले भोली जुनसुकै खालका दुर्घटना पुर्याउन सक्ने खतरा छ भन्ने ध्यानाकर्षण समेत सरकारलाई गराइएको छ। नागरिकहरुको जीवनलाई कहिलेसम्म क्षति पुर्याउने हो? त्यो क्षतिलाई न्यूनिकरण गर्नका लागि सरकारले योजना बनाएर भोलिका दिनमा यस्ता क्षतिहरु हुन नदिनका लागि त्यो जोखिम क्षेत्र वरपर तारबार लगाउने, विज्ञहरुले भनेअनुसार सुख्खा पहिरो जान नदिनका लागि विशेष व्यवस्था गर्न सुझाव दिनुभएको छ। त्यो सुझावलाई ग्रहण गर्दै योजना बनाउने काममा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।