काठमाडौं– बिब्बतीलाई नेपाली नागरिकता दिइएकोबारे अनुसन्धान गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नासु देवराज गौतमले प्रतिनागरिकता १ लाख २० हजार रुपैयाँ लिने गरेको खुलेको छ।
१ लाख २० हजार रुपैयाँ लिएर नागकिरता बनाएर नासुले उपलब्ध गराउने गरेको पाइएको अभियोगपत्रमा उल्लेख गरिएको छ। नासुसहित ८ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
तीब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने प्रकरणमा मुख्य योजनाकार कृष्णबहादुर कटुवाल भएका प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाली नागरिकताको खोजीमा रहेका तिब्बतीयन नागरिक लोब्साङ ठिन्लेसँग कटुवालको भेट भएको थियो। ३ लाख तिरेर नेपाली नागरिकता लिन ठिन्ले राजी भएका थिए। त्यसपछि कटुवालले सबै योजना बनाएर नागरिकता बनाउँदै बेचेका थिए।
ठिन्लेले नागरिकता पाएपछि अन्य तिब्बतीयनलाई पनि कटुवालको सम्पर्कमा पुर्याएका थिए। त्यसपछि कटुवालको गिरोहले धन्दा नै चलाएर नेपाली नागरिकता तिब्बतीयनलाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।
नागरिकता चाहिने तिब्बतीयनबाट प्रतिव्यक्ति कृष्णबहादुर कटुवाले ३ देखि ५ लाख लिने गरेका थिए। त्यसपछि तिब्बतीयनलाई नागरिकता बनाउने चाहिने आवश्यक कागजात, स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितको अनसूची फारम, जन्मदर्ता, स्थायी बसोबास पत्र, बसाइँसराई प्रमाणपत्र, सर्जमिन मुचुल्का तथा वडाध्यक्ष तथा कर्मचारीको कीर्ते हस्ताक्षर समेत कृष्णबहादुरले नै मिलाउने गरेका थिए।
यो काममा कटुवाललाई रबिन चौधरी, हिरालाल शिवाकोटीले सहयोग गर्ने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि न्युल्केश श्रेष्ठलाई नक्कली बाबु बनाई सीडीओ कार्यालयमा पेस गर्ने गरिएको थियो। यसका लागि सीडीओ कार्यालयमै क्यान्टिन सञ्चालक विजय लामाले सहयोग गर्ने गरेका थिए।
वियजलाई नागरिकता लिन चाहिने अनसूची फारमसहित १ लाख ५० हजार रुपैयाँ कटुवालले दिने गरेका थिए। प्रहरी अनुसन्धानबाट खुलेअनुसार विजयले ३० हजार रुपैयाँ आफूसँग राखेर १ लाख २० हजार रुपैयाँ नासु गौतमलाई दिने गरेका थिए।
पक्राउ परेका ८ जना प्रतिवादीहरुको बयान तथा अन्य प्रमाणहरुबाट समेत मोटो रकम लिएर नागरिकता बेच्ने गरेको खुलेको हो। नासु गौतम र क्यान्टिन सञ्चालक विजयबीचको कल डिटेल रिपोर्ट, ई–सेवाको विवरणबाट समेत रकम आदान प्रदान भएको देखिएकाले उनीहरुले योजनाबद्ध तरिकाले नेपाली नागरिकता बेच्ने गरेको खुलेको हो।
नक्कली नागरिकता पनि लाखौँमा बिक्री
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बतीयन शरणार्थीलाई नेपाली नागरिकता दिएकोबारे अनुसन्धान गर्दा अन्य जिल्लाबाट जारी भएका नागरिकता पनि बरामद भएका थिए।
तर अनुसन्धानको क्रममा काठमाडौं बाहिरको जिल्लाबाट जारी भएका नागरिकताहरु भने नक्कली भएको खुलेको छ। ५ लाख रुपैयाँसम्म लिएर यो गिरोहले सक्कली भन्दै नक्कली नेपाली नागरिकता समेत तिब्बतीयनलाई बेच्ने गरेको खुलेको छ। पक्राउ परेका प्रतिवादीहरुको साथबाट बरामद भएका काठमाडौं बाहेक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, रसुवा, मनाङबाट जारी भएका नागरिकताहरु भने नक्कली रहेको खुलेको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाबाट छिरिङ टेम्पोको नाममा जारी भएको ८०२५ नम्बरको नागरिकता बरामद भएको थियो। तर प्रशासन कार्यालय रसुवालाई पत्राचार गर्दा उक्त नाममा ८०२५ को नागरिकता प्रमाणपत्र जारी नभएको भन्ने जानकारी पाएपछि यो गिरोहले तिब्बतीयनलाई नक्कली नागरिकता समेत बेच्ने गरेको खुलेको हो।
छोमा शेर्पाको नाममा ताप्लेजुङबाट २६८७५ नम्बरको, छोक्मा शेर्पाको नाममा २६८७५/२९४ नम्बरको नागरिकता प्रमाणपत्र प्रहरीले बरामद गरेको थियो। तर अनुसन्धानका क्रममा ती नागरिकता समेत नक्कली रहेको खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।