काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सरकार गठनको ४ महिना नपुग्दै प्रधानमन्त्री प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्। नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त हुँदैछन्।
कांग्रेस नेता एनपी साउद (फाइल तस्बिर)
आठौंपटक विस्तार हुँदा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले आइतबार पनि पूर्णता नपाउने देखिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्रमन्त्री नियुक्त गरिन लागिएको हो।
वैशाख १० मा उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी गरेका छन्। वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रीहरुको भागबण्डा र नामको विषयमा नेपाली कांग्रेसभित्र विवाद देखिएका कारण त्यसको असर मन्त्रिपरिषद् विस्तारमा पनि देखिएको हो।
हाल प्रधानमन्त्री प्रचण्डले परराष्ट्रसहित ५ वटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्।
कांग्रेस नेता साउद बाहेक अन्य मन्त्री नियुक्तिबारे अझै अन्योल छ। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले आइतबार परराष्ट्रमन्त्रीमा साउदको मात्रै शपथ हुने जानकारी दिएको छ। परराष्ट्रमन्त्री नियुक्तिपछि पनि प्रधानमन्त्रीसँग अझै ४ वटा मन्त्रालय बाँकी रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।