काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको शुक्रबार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
‘यसबाट लाखौं प्रवासी नेपालीहरू लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुपर्दैन’, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारका लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए।
प्रधामन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो।’ उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताए।
उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको दाबी गरे।
‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो। हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ज्ञारेन्टी गर्ने चुनौति छ। अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिलेदेखि नै हो’, उनले भने, ‘यसमा म आएपछि सुधार भइरहेको छ। नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखियो। संचिति बढेको छ। राजश्व संकलनमा उल्लेखित सुधार भएको छ। बैंकको ब्याजदरमा सुधार गर्न मेरो पहलमा ब्याज घट्ने क्रम सुरु भएको छ। निजी क्षेत्रका समस्या समाधानको पहल भएको छ। देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम छ।’
प्रधानमन्त्री प्रचण्डले आफूले छिट्टै छिमेकी देशहरूमा भ्रमण गर्ने जानकारी दिए। त्यस भ्रमणमा नेपाली जनताका केही मुद्दा पूरा गराउनेतर्फ लाग्ने प्रधानमन्त्रीको भनाइ छ। व्यापार घाटा कम गर्न ट्रान्जिट पोलिसीका विषयमा, हवाई रुटका बारेमा छिमेकी देशसँग मिलेर अगाडि बढ्ने प्रचण्डले बताए।
‘विदेशी लगानी भित्र्याउने कुरामा केही सकारात्मक संकेत देखिएका छन्। यसअघि पनि म दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले ९ महिनाको कार्यकालमा धेरै काम गरेका थियौं। अब हामीले तय गरेको नीति तथा कार्यान्वयनमा जसरी पनि सफल हुनै पर्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘विगत केही वर्षदेखि नीतिगत, ऐन, नियम, कानुनहरू विधि प्रक्रियाका कारणले भनेको जस्तो राम्रो हुन सकेको थिएन। भूकम्पले पुर्याएको क्षति, कोरोना महामारी र रुस–युक्रेन युद्धले अर्थतन्त्र केही अप्ठ्यारो अवस्थामा मात्रै आएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।