काठमाडौं– शुक्रबार साँझ नयाँ वर्षको अवसर पारेर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ बस्ने बालुवाटार गैरीधारास्थित घरमा आफन्तहरू भेला भएका थिए। वर्षमान भने उपचारका सिलसिलामा देशबाहिर छन्।
नजिकका नातेदारहरूबीच नयाँ वर्ष मनाउने कार्यक्रम अनुसार काठमाडौंमा उपलब्ध आफन्तहरू त्यहाँ भेला भएका थिए। तर, सोही भेलामा प्रहरीले बोकेको हतियारबाट गोली चल्दा वर्षमानकी आमा तिर्थमाली घाइते भएकी छन्। खुट्टामा गोली लागेकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार तिर्थमाली खतरामुक्त छन्।
पारिवारिक जमघटमा कसरी चल्यो त गोली? प्रहरी भन्छ– ‘एक्सिडेन्ट्ली घटना भएछ।’
न्यायाधीशको सुरक्षामा खटिएका ती प्रहरी सहायक हवल्दार वर्षमानकी आमाका निम्तालु थिए। उनी तिर्थमालीका नाति पर्छन्। नयाँ वर्षको कार्यक्रम सकेर राति अबेर (करिब पौने १० बजेतिर) घर फर्किने बेला त्यहाँ उपस्थितहरूले उनलाई सोधे, ‘यस्तो रातिमा कसरी जान्छस्?’
त्यहीबेला ती प्रहरी सहायक हवल्दारले आफूसँग भएको हतियार (पेस्तोल) निकालेका थिए। उनले हतियार निकाल्दै ‘यी यो छ। गइहाल्छु, केही हुँदैन’ भन्दै गर्दा अचानक गोली चलेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी स्रोतले नेपाल लाइभलाई जनायो।
प्रहरीले ती प्रहरी सहायक हवल्दार, वर्षमानकी आमा र नयाँ वर्षको ‘पार्टी’मा सहभागी केही जनासँग सोधपुछ समेत गरेको छ। उनीहरू सबैले कुनै झैझगडा नभएको, सौहार्दपूर्ण वातावरणमा खानपिन भएको र घर जाने प्रसंगका बेला हतियार निकाल्दा अचानक गोली चलेको बताएका छन्।
ती प्रहरीलाई अहिले प्रहरी प्रधान कार्यालय राखिएको छ। यसअघि शुक्रबार राति नै जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्कमा पुगेका उनी शनिबार बिहानसम्म परिसरमै थिए।
सम्बन्धित समाचार :
बालुवाटारमा गोली चल्यो, वर्षमानकी आमा घाइते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।