काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा गरेका छन्।
योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उनले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा त्यसलाई सञ्चालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताएका हुन्।
श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाइदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरूलाई पनि केही समय यसलाई दिन भन्ने गरेको सुनाए।
आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उनले स्मरण गरे। उपप्रधानमन्त्री श्रेष्ठले यसअघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर सञ्चालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताए।
उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउंदिन भन्न नमिल्ने पनि बताए। कुनै एउटा सन्दर्भलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उनले त्यसो भन्न मिल्छ कि मिल्दैन? भनेर सोचिदिन पनि आग्रह गरे।
उपप्रधानमन्त्री श्रेष्ठले फोहोरी राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।