काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा अमनचयन राख्न चरम दलगत र गुटगत राजनीतिभन्दा माथि उठ्नुपर्ने बताएका छन्। चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको सिल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचयन राख्न सकिने राष्ट्रपति पौडेलको भनाइ छ।
नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक परिपाटी मजबुत बनाउन सबै सचेत हुनुपर्ने बताएका छन्।
‘जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन। त्यसतर्फ हामी सबै सचेत हुनु पर्दछ,’ राष्ट्रपति पौडेलको भनाइ छ।
लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ रहेको बताएका छन्।
केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने राष्ट्रपतिको भनाइ छ।
नेपाल आगामी ३ वर्षभित्र अति कम विकसित देशबाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसबीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाहरुको सहयोग र सद्भाव लिनुपर्ने बताएका छन्।
अहिले व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गर्नुपर्ने आवश्यकता रहेको पौडेलको भनाइ छ। ‘श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं,’ राष्ट्रपति पौडेलले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।