काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुन नसक्ने बताएका छन्। नयाँ वर्षमा प्रधानमन्त्रीका रुपमा आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रचण्डको दाबी छ।
नयाँ वर्ष २०८० सालको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ विश्वास व्यक्त गरेका छन्।
‘हरेक नयाँ वर्ष एउटा सुरुवात हो। विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो। हामीले आत्मसमीक्षा गर्नैपर्छ, तर हामीलाई निराश हुने छुट छैन। राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन,’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्रीले आफ्ना केही ठोस संकल्प रहेको बताउँदै निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको दाबी गरेका छन्।
‘अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन्। वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्। नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर कम हुँदै गएको पनि दाबी गरेका छन्। ‘व्यवसायीहरुको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ। राजस्व संकलनमा वृद्धि भइरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन्।
परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेको प्रधानमन्त्रीले दाबी गरेका छन्। ‘एउटा सकारात्मक वातावरण बनिरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ,’ प्रधानमन्त्रीको भनाइ छ।
सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन अपिल गरेका छन्।
‘नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं,’ प्रधानमन्त्रीले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।