काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले अब कोरा नारा छाडेर सही प्रकारको राज्य पद्धतिका लागि सोच्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार नयाँ वर्ष २०८० सालको शुभकामना दिँदै उनले अब सोच्नुपर्नेबेला आएको बताएका हुन्।
शुभकामना सन्देशमा उनले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारिताको ठूलो महत्व हुने बताएका छन्। साथै उनले, उनकै शब्दमा, विगत तीन दशकको अनर्थ प्रयत्नउपर चरम विद्रोहभाव देखिन थालेकाले मुख थुनेर वा अर्थहीन आरोप थोपर्न नहुने बताए।
केही दिनअघि विराटनगरमा आयोजित उनकाे नागरिक अभिनन्दन सरकारले रोकेको थियो। सोही विषयतर्फ इंगित गर्ने उनले भने, ‘विगत तीन दशकको अनर्थ प्रयत्नउपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको, यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन। त्यसैले अब कोरा नारा छाडौं, सही प्रकारको राज्य पद्धतिको निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं।’
उनले अहिलेका राजनीतिक दलहरुप्रति जनता निराश भएको र देशमा बेथिति, अविश्वास र द्वन्द्व सिर्जना भएको बताए। देशको ढुकुटी केही व्यक्ति र सानो घेराका परिवारमा मात्र सञ्चालित भएको आम जनाताको गुनासो सुनिने गरेको उनले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।