काठमाडौं– महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले स्ट्यान्डिङ लिक्विडिटी फ्यासिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न गरेको छ।
आर्थिक वर्ष २०७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ सुविधा बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको बताएको छ।
‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको बताए पनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिँदैन’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ।
बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८/७९ मा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ। ४ हजार ९०८ पटकमा उक्त तरलता प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ।
यस्तै २०७६/७७ मा ८३ पटकमा १ खर्ब ३ अर्ब, २०७७/७८ मा १६७ पटकमा ३ खर्ब ६१ अर्ब एसएलएफ सुविधा बैंकहरुलाई उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।