काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतर पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका छन्।
बिहीबार बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकमा महामन्त्री गगन थापाले यो जानकारी आफ्ना पक्षका नेताहरूलाई गराएका छन्। बिहीबार बिहान बालुवाटारमा बसेको नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षको बैठकमा मन्त्रालय भागबन्डाको बारेमा ब्रिफिङ गरिएको थियो।
बैठकमा सहभागी नेता प्रतिमा गौतमले दिएको जानकारी अनुसार यसअघि सभापति देउवासँग मन्त्रालय भागबन्डामा देखिएको इतर पक्षको असन्तुष्टि सम्बोधन गरिएको छ।
नेपाली कांग्रेसले पाएको ८ मन्त्रालयमा इतर पक्षले ३ मन्त्री पाउनु पर्ने अडान लिएको थियो, जसका कारण कांग्रेसले पहिलो चरणमा आफ्ना पक्षका चार नेतालाई मात्रै मन्त्रिपरिषद्मा पठाएको थियो। देउवाले त्यतिबेला इतर पक्षलाई दुई मन्त्रालय दिनेगरि मन्त्री सिफारिस गर्न भनेका थिए। तर, त्यसप्रति असन्तुष्टि जनाउँदै शेखर–गगन पक्षले तीन मन्त्रालय नपाएसम्म मन्त्री सिफारिस नगर्ने अडान लिएको थियो।
अब १० वैशाखको उपनिर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएकाले मन्त्रीहरूको नाम इतर पक्षले बिहीबारसम्म टुंगो लगाएको छैन।
इतर पक्षबाट उपसभापति धनराज गुरुङसहित सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मन्त्रीका आकांक्षी छन्। यसबाहेक डेकबहादु लिम्बु, सुरेन्द्र आचार्य लगायतका नेताहरू पनि मन्त्री बन्ने लाइनमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदीप पौडेललाई समेत मन्त्री बनाउनेगरी सभापतिकहाँ लबिङ गरिरहेको नेताहरूले बताएका छन्।
यसैगरी, सभापति देउवाले आफ्नो पक्षबाट एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।