काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मेघ आलेले पार्टीले आफूलाई सांसद नबनाएकोबारे निर्वाचन आयोगमा उजुरी नदिने बताएका छन्।
सूची अनुसार आफू सांसद बन्नुपर्नेमा पार्टीले अर्कैलाई बनाउने भएपछि असन्तुष्ट हुनु स्वभाविक रहेपनि आयोगमा उजुरी नै दिने पक्षमा आफू नरहेको उनले बताए।
‘असन्तुष्टिका कुराहरू पार्टीभित्रै छलफल हुन्छन्। जे गर्नुपर्ने पनि पार्टीभित्रै हुन्छ। आयोगमा उजुरी दिने पक्षमा म छैन’, आलेले नेपाल लाइभसँग भने।
२ करोड घुस माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाका सामानुपातितर्फका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ। श्रेष्ठको ठाउँमा रिक्त सांसद पदमा रास्वपाले विन्दबासिनी कंशाकारलाई सांसद बनाउने भएको छ।
तर, जनजातीतर्फको क्लष्टरमा भने श्रेष्ठपछि मेघ आलेको नाम थियो। पार्टीले आलेलाई सांसद नबनाई जनजातीतर्फकै महिलाबाट कंशाकारलाई पठाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।