काठमाडौं– सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
मिनुस्कामा सहभागी जबरजंग गण (शान्ति सेना)-चौथो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फालाई बदली गर्नका लागि भवानीबक्स गण, पाँचौं डफ्फा र सैनिक प्रहरी युनिट, आठौं डफ्फाका १६३ जना सैनिकहरूको अन्तिम टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
सेनानी केशवबहादुर थापाको नेतृत्वमा इथियोपियन एयरलाइन्सको विमानमार्फत् टोली त्यसतर्फ प्रस्थान गरेको हो।
प्रमुख सेनानी रितबहादुर रानाभाटको कमाण्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरू यस अगावै मिसन ईलाकामा पुगिसकेका छन्।
यस्तै, उक्त मिसनमा तैनाथ जबरजंग गण, चौथो डफ्फा र सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरू प्रमुख सेनानी राजेश बिक्रम शाहीको नेतृत्वमा बिहीबार स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।